You are viewing the translated version of मालवस्तुको जाँच गर्ने.

Section 20
मालवस्तुको जाँच गर्ने
(१) दफा १९ बमोजिमको जाँच: गर्दा सम्बन्धित मालवस्तु निकासी वा पैठारी गर्न पाइने देखिएमा भन्सार अधिकृतले परिच्छेद-७ बमोजिम त्यस्तो मालवस्तु जाँच गर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भन्सार अधिकृतले छनौट प्रणाली बमोजिम देहायको कुनै प्रक्रिया अवलम्बन गरी मालवस्तु जाँचपास गर्न सक्नेछ:-

(क) मालवस्तु तथा तत्सम्बन्धी कागजात समेत जाँच नगरी घोषणाका आधारमा मात्र जाँचपास गर्ने,

(ख) मालवस्तुको जाँच नगरी तत्सम्बन्धी कागजात मात्र जाँच गरी जाँचपास गर्ने,

(ग) मालवस्तु तथा तत्सम्बन्धी कागजात समेत जाँच नगरी जाँचपास पछि परीक्षण गर्ने गरी घोषणाका आधारमा मात्र जाँचपास गर्ने,

(घ) मालवस्तु तथा तत्सम्बन्धी कागजात समेत पूर्ण रूपमा जाँच गरेर जाँचपास गर्ने ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “छनौट प्रणाली” भन्नाले राजस्व सुरक्षा, सामाजिक सुरक्षा, जनस्वास्थ्यको सुरक्षा, पर्यावरणीय सुरक्षा, मालवस्तुको प्रकृति, मालवस्तुको उत्पत्तिको मुलुक, मालवस्तु चलान भएको मुलुक, आपूर्तिकर्ता, पैठारीकर्ता वा भन्सार एजेन्टको साख आदिको आधारमा निर्धारण गरिने जोखिमलाई विचार गरी त्यस्ता जोखिमका आधारमा मालवस्तुको वर्गीकरण गरी मालवस्तु जाँचपास गर्न विभागले जारी गरेको निर्देशिकामा निर्धारण गरिएको प्रणाली सम्झनु पर्छ ।